
प्राइम सहकारी
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त परेको छ ।
सहकारीका सञ्चालक तथा पदाधिकारीले निक्षेपकर्ताका बचत रकम फिर्ता नगरि रकम हिनामिना एवं ठगी गरेको भन्दै प्रहरीले उनीहरु बिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की मंगलबार सूचना जारी गर्दै उजुरी दिन आह्वान गरेको हो । सहकारीको कति रकम हिनामिना भयो भन्ने विषयमा केही खुलेको छैन । कास्की प्रहरीले प्रतिवेदन अनुसन्धानको क्रममा रहेको र केही दिनमा सबै विषय सार्वजनिक गरिने जनाएको छ ।
प्रतिवेदन अध्ययनकै क्रममा रहेको र सबै अध्ययन गरिसकेपछि सार्वजनिक गरेर सञ्चालकबिरुद्ध मुद्दा दर्ता गर्ने कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।
सञ्चालकबिरुद्ध मुद्दा अघि बढाउन कास्की प्रहरीले सहकारीका बचतकर्ता र सेयरधनीलाई सञ्चालकबिरुद्ध उजुरी दिन आग्रह गरेको छ । सहकारी ऐन, २०७५ बमोजिम अनुसन्धान गरी दिनु हुन सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको पत्र साथ कागजात प्राप्त भई दर्तासमेत भई अनुसन्धानको क्रममा रहेको जनाएको छ ।
सहकारीमा बचतकर्ता रही सहकारीबाट बचत तथा सेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई कास्की प्रहरीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
पीडितले जेठ २० गतेसम्ममा उजुरी दिन सकिने प्रहरीले जनाएको छ । सहकारीको प्रधान कार्यालय गैह्रपाटन र लेखनाथको सेवा केन्द्र कार्यालय रहेको थियो । यस अगाडी पोखराका पाँच सहकारी समस्याग्रस्त भएर मुद्धाको प्रक्रियामा रहेका छन् ।






