
पोखरा–७ मा दौड प्रतियोगिता, तयारी अन्तिम चरणमा, करिब ७ सय जना दैडिदै
पोखरा, २१ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ७ मा बृहत् दौड प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको सहयोगमा बैशाख २२ गते शनिबार हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
वडाभित्र क्रियाशील सामाजिक संघसंस्थालाई जगरुक गराउनुका साथै आपसी एकता वृद्घि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रविश्वर आचार्य बताइन्छ ।
प्रतियोगिताअन्तर्गत खुला पुरुष, खुला महिला, २३ वर्ष मुनिको विद्यार्थी र ५० वर्षमाथिको छ विधा छन् । हरेक विधामा प्रथम हुनेले पाँच हजार पाँच सय ५५, , द्वितीय हुनेले चार हजार चार सय ४४, तृतीय हुनेले तीन हजार तीन सय ३३ र सान्त्वना स्थान हासिल गर्नेले दुई हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने समितिका सचिब मधु अधिकारीले जानकारी दिए ।
खुला र ५० वर्षमाथिको दौडमा सहभागिता जनाउने प्रतियोगी अनिवार्य वडावासी हुनुपर्नेछ । २३ वर्ष मुनीको दौडमा भने वडाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि सहभागिता जनाउन पाउने सचिव अधिकारीले बताए ।
दौडको दूरी पाँच किलोमिटर रहेको छ । जसमा पोखरा–७ नुवारथोकस्थित पुष्पलाल पार्कबाट दौड सुरु हुनेछ । त्यसपछि शिव मार्ग, मदरल्याण्ड मावि, ह्याप्पी बोडिङ्ग स्कुल, मासबार, श्रीकृष्ण स्कुल, रत्नचोक, जनप्रिय क्याम्पस, पूरानो एयरपोर्ट, मुस्ताङचोक, घारीपाटनको हिमाली टोल, तीनकुने चोक हुँदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।
प्रतियोगितामा अहिले सम्म करिब ७ सय जनाले नाम दर्ता गरि सकेको समितिका सहकोषाध्यक्ष दामोदर बरालले जानकारी दिए । उनले प्रतियोगिता सम्पनन गर्न करिब दुई लाख ५० हजार खर्च लाग्ने बताए ।





