दुर्घटना
पोखरा, २८ पुस/ बागलुङ ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागिहेलिकप्टर मार्फत पोखरा ल्याउदै छ ।
बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए ।
घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल ल्याउन लागेको हो । ६ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।
जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।