निर्वाचन चुनाब
पोखरा, २३ पुस/ राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ । यसका लागि दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् ।
गण्डकी प्रदेशबाट ३ सदस्य निर्वाचित हुनेमा सत्ता गठबन्धनबाट २ पद कांग्रेस र १ पदमा माओवादीले उमेद्वारी बनाएका छन् । कांग्रेसले गण्डकीबाट गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई टिकट दिएको छ ।
माओवादीले पर्वतकी मनरुपा शर्मालाई टिकट दिएको छ । गण्डकीमा कांग्रेसको वर्चश्च भएकाले गठबन्धनकै उम्मेदवार विजयी हुने निश्चित छ ।
यसैगरी नेकपा एमालेले गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने भएको छ । राप्रपाले गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारीलाई उमेद्वार बनाउने भएको छ ।
गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल अहिले सकिन लागेको हो । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने छन् । गण्डकीमा नेपालकी काग्रेसको २ हजार ७ सय ४ मतभार हुन्छ ।
त्यसै गरी नेकपा एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ९४, राप्रपाको १ सय ६, समाजवादीको ७२, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्र उमेद्वारको १९ मतभार रहेको छ ।