
सूर्यदर्शन सहकारी
पोखरा, १७ पुस/ पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका दुई जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका छन् ।
उनीहरु दुवैजना मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । दुवैजनाको मंगलबार अदालतमा बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सुरुमै कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी पनि सोमबार कारागार चलान भएका छन् ।
सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जोखिममा पारेको छ । सूर्यदर्शन सहकारीविरुद्ध १ हजार ३५ जनाले १ अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित जाहेरी दिएका छन् ।