
गण्डकीमा राष्ट्रियसभा सदस्यमा काग्रेसका श्रेष्ठ, परियार र माओवादीका शर्मा विजयी
पोखरा, ११ माघ/ राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीन जानै उम्मेदवार विजयी भएका छन् ।
नेपाली काग्रेसबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा माओवादी नेतृ पर्वतकी मनरुपा शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ऋषिराम आचार्यले जानकारी दिए ।
गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन् । उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भए । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत पाए ।
विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।
नेकपा माओवादी केन्द्रकी मनरुपा शर्माले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिइन् ।
विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो ।
राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे ।
अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् । उनले ३ हजार ७ सय ७४ मतभार पाएर विजयी भएका हुन् । परियारलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए ।
विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपाङ्गता कोटामा ३ मत बदर भएको छ ।





