
पोखरामा भएको विद्यालयस्तरीय बुद्धिचालको उपाधि आलिस्मा र परिवेशलाई
पोखरा, २५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर १७ मा भएको विद्यालय स्तरीय वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिताको उपाधि परिवेश थापा र आलिस्मा पनेरुले जितेका छन् । हिमालयन बोर्डिङ स्कुलका थापा र पनेरुले जितेका हुन् ।
माइन्ड फ्रेस चेस क्लबले आयोजना भएको प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङ स्कुल, वेस्ट प्याइन्ट बोर्डिङ र शन्ति निकुञ्ज बोर्डिङले क्रमश दोस्रो, तेस्रो र चौथो भए । विजयी विद्यार्थीलाई मेडल र स्कुलहरुलाई पोखरा १७ की वडाध्यक्ष राधिका शाही लगाएतले ट्रफी प्रदान गरेकी थिइन् ।
प्रतियोगितामा १६ स्कुलका २८ विद्यार्थी सहभागी थिए । प्रतियोगिताका मुख्य जज रामबहादुर क्षेत्रीले ५ राउन्डमा टिम म्याचका रुपमा चेस प्रतियोगिता सञ्चालन भएको बताएका थिए । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष योगीले विकासलाई भौतिक निर्माणमा मात्र सीमित गर्न नहुने जनाइन् । उनले वडाले अहिले फुटबल, भलिबल, ब्याडमिन्टन, दौड जस्ता प्रतियोगिता गर्दै आएको बताइन् ।
कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिलबहादुर कोइरालाले प्रतियोगिता उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा १७ का वडा सदस्य विक्रम गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल संघ अध्यक्ष युवराज भण्डारी, छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रिनाथ पहारी लगायतले प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोगी हुने बताए ।





