
आर्मीलाई हराउँदै मधेश प्रदेशलाई केपि ओली कपको उपाधि
पोखरा, १५ मंसिर/ मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि२० प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।
प्रतियोगितामा विवेक यादव १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहे । आर्मीका कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । आर्मीको आजको प्लेइङ ११ मा ओपनर सन्तोष कार्की बाहेक अन्य सबै खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।
आर्मीले ओपनर सन्तोष कार्कीलाई पाँचौं ओभरको चौथो बलमा गुमाएको थियो । प्रदीप पासवानको बलमा एलबीडब्लू आउट हुँदै कार्की १३ बलमा ३ चौकासहित आउट भए । मध्यगतिका बलर प्रतिक यादवले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आठौं ओभरको तेस्रो बलमा ५ रनमा क्याच आउट गराए ।
११ औं ओभर मधेशको जितको टर्निङ प्वाइन्ट बन्यो । कप्तान हरिशंकर शाहले विनोद भण्डारीलाई पहिलो बलमा एलबीडब्लू आउट गरे । एक बलपछि बसिर अहमद पनि २ रनमा एलबीडब्लू आउट भए ।
पाँचौं बलमा नेपाली टोलीका विष्फोटक ब्याटर कुशल मल्ल शून्यमा बोल्ड भएपछि आर्मी ११ ओभरमा ५८–५ को अवस्थामा पुगेको थियो । हरिशंकरको अर्को ओभरमा राजेश पुलामी आउट भएपछि आर्मी १२.५ ओभरमा ६४–६ को अवस्थामा पुगेको थियो । भीम सार्की २१ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।
मधेशका हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेशको जितमा तल्लोक्रमका ब्याटर विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए ।
ओपनर हरिशंकर शाह २१ बलमा ३ चौका र २ छक्कासहित २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।
आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ४ आभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए । मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।
प्रतियोगिताको उपाधि विजेता मधेश प्रदेशले नगद ५ लाख, उपविजेता आर्मीले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । म्यान अफ द सिरिजको उपाधि मधेश प्रदेशका हरिशंकर शाहले जिते उनले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे, उत्कृष्ट बलर बागमती प्रदेशका सन्दिप लामिछाने र उत्कृष्ट व्यास् म्यान बागमती कै रित गौतमले जिते । उनीहरुले नगद २०/२० हजार प्राप्त गरे ।





