एपिएफलाई हराउँदै मधेश फाइनलमा
पोखरा, १४ मंसिर/ एपिएफलाई हराउदै मधेश प्रदेश केपी ओली टि२० कपको सेमिफाइनलमा प्रबेश गरेको छ । मधेश प्रदेशले एपिएफ क्लबलाई ११ रनले हराउँदै फाइनलमा प्रबेश गरेको हो । उपाधिको लागि मधेशले आर्मीसँग खेल्नेछ ।
जितको लागि १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । एपिएफका सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन बनाए । प्रदीप ऐरी ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रनमा आउट भए । तेस्रो विकेटका लागि प्रदीप र सन्दीपले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । तर अन्य व्याटस्म्यान नचल्दा जित्न सकेन ।
लोकेश बम ३२, सुमित महर्जन १३, आसिफ शेख ४, अरुण ऐरी शून्य र पुरन बिक ४ रनमा आउट भए । मधेशका विशाल पटेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कप्तान हरिशंकर शाहले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मधेशको जितमा ओपनर अनिल शाहले ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । शीर्षक्रमका ब्याटर इमरान शेखले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाएका थिए ।
ओपनर तथा कप्तान हरिशंकर शाह १०, पवन सरार्फ ३३, रुपेश सिंहले २१, हिमान्शु दत्त १५, विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाए । एपिएफका स्पिनर मौसम ढकालले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेलाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मधेशले फाइनलमा शुक्रबार आर्मीसँग खेल्नेछ । आर्मीले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराएको थियो ।