
पोखरामा भएको अन्तराष्ट्रिय क्रस कीन्ट्रमा नेपाली टोलीको बर्चस्व
पोखरा, ९ मंसिर/ पोखरामा आयोजित अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको बर्चस्व रहेको छ । शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली टोलीले उपाधि जितेको छ ।
४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम हुदै नगद ३ लाख ६० हजार मेडल र प्रमाणपत्र जित्न सफल भयो ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूताबासको संयुक्त आयोजनामा पोखरामा आयोजित प्रतिस्पर्धामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भएको छ ।
४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको छ । श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगर(नेपाली सेना)को टोली तेस्रो स्थानमा आएको हो ।
चिनिया टोली भने चौथो स्थानमा रह्यो । लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ चौथो स्थानमा रहेर अन्तराष्ट्रिय क्रस कन्ट्री दौड पुरा गरे । दोस्रो हुने टोलीले २ लाख ८८ हजार र तेस्रो हुने टोलीले नगद २ लाख १६ हजार चौथो हुनेले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गरे । क्रसकन्ट्री दौडको टिम इभेन्टमा नेपाली १० टिम र पाहुना टोली चिनिया ३ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
३८ किलोमिटर तर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस प्रथम भए । त्यस्तै बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो भए । उनीहरु सबै नेपाली सेनाका धावकहरु हुन् । व्यक्तिगत प्रतिस्पर्धाको विजेताले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौथो हुनेले १८ हजार रुपैयाँ प्राप्त गरे । एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा भाग लिन चिनिया टोली चार्ट विमानबाट पोखरा आएका थिए ।
अन्तराष्ट्रिय क्रसकन्ट्री दौडकै अवसरमा विद्यार्थीहरु लक्षित ५ किलोमिटर सडक दौडमा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम भएका थिए । उनीहरुले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे ।
छात्र तर्फ तेन्जोन रोका मगर र कास्की मोर्डनाइज्डका बादल कार्की क्रमश दोस्रो र तेस्रो भए । छात्रा तर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी दोस्रो र तालबाराही माविकी गीता श्रेष्ठ तेस्रो भईन् । दोस्रो र तेस्रो भएका छात्र तथा छात्राहरुले नगद २० र १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।







