
केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात तस्बिर योगेन श्रेष्ठ
पोखरा, ७ मंसिर/ रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।
पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको बागमती प्रदेशले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल लक्ष्य दिएको थियो । ओपनर सुभ कन्साकार ४ रनमै पभेलियन फर्किएपछि बागमतीको इनिङलाई गौतम र पाण्डेले सम्हाल्दै उच्च स्कोरको योगफल तयार पारे ।
५९ बल खेल्ने क्रममा गौतमले १० चौका र २ छक्का हिर्काउँदै ८२ रनमा आउट भए । अघिल्लो दिन डकआउट भएका पाण्डेले दोस्रो दिन भने अर्जुन चनराको बलमा आउट हुनु अघि ३८ बल खेल्दै ७० रनको पारी खेले । उनको व्याटबाट चार चौका र छ छक्का निस्कियो । दुवैले दोस्रो विकेटको लागि १४३ रनको साझेदारी गरेका थिए । प्रतिश जिसी भने १२ रनमा नटआउट रहे ।
दिनेश अधिकारीले ३ विकेट लिए । कर्णालीले शुक्रबार बागमतीसँगको प्रतिस्पर्धामा निकै फितलो फिल्डिङ गर्यो । हातमै आएको क्याचलाई समेत फुत्काएर जीवनदान दिएपछि कर्णालीले स्कोर बोर्डमा विशाल लक्ष्य देख्नुपर्यो ।
जवाफी व्याटिङ थालेको कर्णाली भने ९९ रनमा अलआउट हुन पुग्यो । सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य पछ्याउन निकै सकस भएको थियो । ३।३ ओभर बलिङ गरेका लामिछानेले ९ रन दिएर ४ विकेट लिए । ओपनर एवं कप्तान रविन्द्र शाही १९ बल खेल्दै ३ चौकासहित २० रनमा इशान पाण्डेको बलमा सन्दीप लामिछानेको हातबाट क्याच भए ।
अर्का ओपनर अर्जुन घर्ती पनि २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा पभेलियन फर्किए । सन्दीप लामिछानेको बलमा विकेट किपरले स्टम्पिङ आउट गरे । विपिन शाही २१, दिपेन्द्र रावत १२ रन जोडे । केवल १७।३ ओभर मात्रै खेलेको कर्णालीका सातजना व्याटर भने दोहोरो रनका आँकडाबाट बन्चित भए । बागमतीका दिपेश श्रेष्ठले २ विकेट लिए । एक विकेट समेत लिएका बागमतीका इशान पाण्डे प्लेयर अफ दि म्याच घोषित भए ।





