
केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात तस्बिर योगेन श्रेष्ठ
पोखरा, ७ मंसिर/ केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरूवात गरेको छ । बिहीबार देखी पोखरामा रंगशालामा शुरु भएको प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई १०९ रनले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १८४ रन बनाउदै १८५ रनको लक्ष्य प्रस्तुत ग¥यो । बागमतीका लागि रित गौतमले ७४ रन बनाए । उनले ५३ बलमा ८ चौका र ३ छक्का हिर्काए । बलिङमा मदन भण्डारीका बिप्रसन केसीले ३ विकेट लिए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको खेलमा आयोजक मदन भण्डारी रातो १४.२ ओभरमा ७५ रनमा अलआउट भयो । उसका लागि अमर मिश्र र विजय प्रजापतिले १३–१३ रनको योगदान दिए ।
बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट, सुवास खत्रीले ३ विकेट र प्रतिश जिशीले २ विकेट लिए । प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । अध्यक्ष ओलीले प्रतियोगिताको बलिङ र ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।





