
देवकुमार नेपाली
विशन क्षेत्री
पोखरा, ५ मंसिर/ बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरेर भागेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो मार्फत व्यक्तिगत सम्पत्ति बिक्रीको लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । तर, बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी गत वैशाख पहिलो हप्तादेखि फरार थिए ।
यो सहकारीले निक्षेपकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ । नेपालीविरुद्ध प्रहरीमा समेत मुद्दा परेको छ । सरकारले पनि उनलाई गत जेठ ८ गते अध्यागमन विभागको निगरानी सूचीमा राखेको थियो । त्यसको तीन दिन अगाडिदेखि नै उनी सम्पर्कविहीन भएका थिए ।
तर, एक भिडियो जारी गर्दै उनले आफू र परिवारमाथि आएको धम्कीको कारण त्यहाँ बस्न सक्ने अवस्था नरहेको बताएका छन् । “बचतकर्ताहरुलाई आफूले सहकारीमा समस्या देखिएपछि सेयर सदस्य र बचतकर्ताको विशेष भेला राखेर बचत फिर्ता समाधान गर्न ६ महिना समय राखिएको थियो,” उनले भनेका छन् ।
तर, केही व्यक्ति घरमा हतियारसहित आई आफूसहित श्रीमती र सानो छोरीको ज्यान मार्ने धम्की दिने र ६ लाख बचत भएको व्यक्तिहरुले पाँच करोडको घरजग्गा आफ्नो नाममा पास गर्न दबाब दिएको कारण आफू केही समय घरबाहिर बस्न बाध्य भएको उनले प्रष्टीकरण दिएका छन् ।
यो समस्या इमेज सहकारीको मात्र नभई देशभरिकै समस्या रहेको उनको भनाइ छ । उनी भन्छन्, “मैले सबै बचतकर्ताहरुलाई अनुरोध गर्दछु कि, इमेज बचत सहकारीको समस्या मात्र नभई यो समस्या नेपालकै सबै सहकारीको समस्या हो ।”
बचतकर्तालाई रकम फिर्ता गर्न ढिला भएकोमा संस्थाको तर्फबाट क्षमा माग्दै उनले सबै मिलेर जानुपर्ने बताएका छन् । उनले भने, “म त्यहाँ नभएका कारणले धेरै टिकाटिप्पणी आएका छन्, मैले बुझेको छु । हामीहरु इमेज सहकारीको समस्या व्यावहारिक तरिकाले समाधान गर्नेतर्फ जानुपर्छ र जान खोजेका पनि छौँ ।”
व्यक्तिगत सम्पत्ति बेचेरै भए पनि सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता उनले दोहो¥याएका छन् । “कतिपय सहकारी १६ अर्बका पनि समस्या परेका छन्, मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो । हामी घरजग्गा र सम्पत्ति नभएको मान्छे होइनौँ । हामीले चलअचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहीँ नै राखेका छौँ, लिएर हिँडेका छैनौँ । यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँदछौँ,” उनले भने ।
सहकारी समस्याग्रस्त हुनुमा कर्मचारीको पनि हात रहेको आरोप उनले लगाएका छन् । नगरप्रमुख भएपछि सहकारीमा आफूले समय दिन नपाएको र बचतकर्ताले एकैपटक बचत फिर्ता माग्दा यो अवस्था आएको उनको भनाइ छ । राजनीतिक रुपमा पनि आफूमाथि प्रहार भएको आरोप उनले लगाएका छन् ।
“एकैपटक बचत फिर्ता लिन जाने हो भने बैंकहरुमा पनि समस्या हुन्छ । यो पनि सबैले बुझेकै हो,” उनले भने, “मलाई असफल पार्नका निम्ति राजनीतिक कुरा पनि जोडिएको छ । तर, अहिले यो विषयमा म बोल्न चाहन्नँ ।”
देवकुमार नेपालीको सम्पती कति https://www.facebook.com/photo?fbid=1093859228275421&set=pcb.1093860161608661





