
पोखरामा मंसिर दोस्रो साता अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता
पोखरा, ३ मंसिर/ पोखरामा मंसिर दोस्रो साता अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता हुने भएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मंसिर ९ गते हुन लागेको हो ।
प्रतियोगितामा २० टिमको सहभागीता रहने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिए । उनले नेपाली १० र चिनियाँ १० गरी २० टिममा ३ सय खेलाडीले प्रतियोगितामा सहभागीता जनाउने बताए । लेकसाइडस्थित बाराहीघाटमा शुरु हुने प्रतियोगिता अन्र्तगत दौड, साइक्लिङ र ढुङा दौड हुने छ ।
टिम इभेन्ट अन्तरगत प्रथम हुनेले ३ लाख ६० हजार, दोस्रो हुनेले २ लाख ८८ हजार, तेस्रो हुनेले २ लाख १६ हजार, चौथो हुनेले १ लाख ४४ हजार र पाँचौ हुनेले ९० हजार रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत इभेन्टतर्फ प्रथम हुनेले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौंथोदेखि ८ औं सम्म हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक पालिखेले बताए ।
विद्यार्थीतर्फको दौड अन्तरगत प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार चौंथो हुनेले १० हजार र पाँचौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताले पोेखराको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।
प्रतियोगिताको सह–आयोजकमा युनान माउन्टेनरीङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन चीन र होटल संघ पोखरा रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै ८० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको थप आर्कषणका रुपमा फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम रहेको छ ।