
पोखरामा गोदावरी पुष्प प्रदर्शनी मेला शुरु
पोखरा, १७ कात्तिक/ पोखरामा शुक्रबारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८० सुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए ।
मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल राखिएको छ भने, २ वटा कृषि सामाग्रीको स्टल राखिएको छ । २० भन्दा बढी प्रजातिका गोदावरी फुलहरू प्रदर्शनीमा राखिएको छ । महानगरका १०९ जना कृषकहरूले व्यवसायीक रूपमा गोदावरी फुलको खेती गर्दै आएका छन् ।
व्यापार भन्दा पनि प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । पोखरामा मागको ८० प्रतिशत पुष्पजन्य वस्तुहरूको उत्पादन हुने गरेको छ ।
२० प्रतिशत माग भने पोखरा बाहिरबाट आउने वस्तुहरूले परिपूर्ति गर्ने गरेको एसोसिएसनले जनाएको छ । मेला पोखरा रङ्गशालामा कात्तिक २० गते सम्म चल्नेछ ।





