
तालबाराही मन्दिरको पुनः निर्माण
पोखरा, ९ कात्तिक/ फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिरको जग पूजा गर्दै शिलन्यास गरेका छन् ।
उनले पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए । उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्ताले समेत अध्ययन गर्ने थलो बनाउनु पर्ने बताए ।
२०७२ सालको भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण थालेको हो । मन्दिर निर्माणको लागि एक करोड ४५ लाख रुपैयाँ लाग्ने समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।
मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, संघ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताए ।
पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आइएको छ ।
मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने कुँबरले बताए । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका रहेको उनले बताए ।
अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माण गरिने छ । तालबाराही मन्दिरमा नौ करोड रुपैयाँको गुरुयोजनासमेत तयार गरिएको तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले जानकारी दिए । मन्दिर चार रोपनी क्षेत्रफलमा फैलिएको छ ।





