फाइल तस्बिर-ताल बाराही मन्दिर
सागर राज तिमिल्सिना
पोखरा, ९ साउन/ पोखरामा फेवाताल बीचमा ताल बाराही मन्दिर छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर रहेका कारण पनि सौन्दर्य अत्यन्त मनमोहक छ ।
फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुग्नका लागि ढुङ्गा चढेर पुग्नु पर्दछ । पोखरा पुगेका पर्यटक यो मन्दिरमा अधिकांश पुग्ने गरेका छन् । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थल मध्ये १ हो । ०७२ साल बैशाख १२ गतेको भुकम्पले मन्दिर दक्षिण तर्फ ढल्लेक पछि मन्दिरको पूर्ननिर्माण गर्नु पर्ने भएको छ ।
गुठी सस्थान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगत पुरातत्व विभाग पनि पूर्ननिर्माण गर्नु पर्ने बताइ सकेका छन् । मन्दिरको माथिल्लो भाग र भुइको भागमा ठाउँ ठाउँमा चर्किएको छ । इन्जिनियरहरुले मन्दिर नाँपजाच गर्दा मन्दिर दक्षिणतर्फ ३ इन्च ढल्किएको बताएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए ।
विक्रम सम्बद १६६८ मा कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर मन्दिर स्थापना गरेको किंवदन्ती छ । त्यस पछि विक्रम संम्बद २०१७ सालमा राजा महेन्द्र विरविक्रम शाहले पोखरा भम्रणका बेला झुप्रोको मन्दिर देखेपछि अहिलेको स्वरुपमा निर्माण गर्न लगाएका थिए । अहिले मन्दिर चर्किएकाले पुरानै स्वरुपमा मन्दिरको पूर्ननिर्माण गर्नु पर्ने भएको अध्यक्ष कुँवर बताउ छन् । उनले पूर्ननिर्माणका काम पुरातत्व विभागले छिटै थाल्ने आशा व्यक्त गरे ।
तालबाराही मन्दिर वरपर सुर्किबाट निर्माण भएको छ भने मन्दिर ढुङ्गा माटो प्रयोग गरे निर्माण गरेको अध्यक्ष कुँवरले बताए । पूर्ननिर्माण गर्दा मन्दिरलाई पुरातत्व विभाग सल्लाहामा ३/४ फिट उत्तरतर्फ बढाउनले र दक्षिण तर्फ पनि एउटा ढोका थप गर्नु पर्ने उनको भनाई छ । तालबाराही मन्दिर पूर्ननिर्माण गर्दा अहिलेकै शैलीमा गरिने छ ।
तालबाराही मन्दिर ३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङ्कोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको छ । विदेशी पर्यटकको समेतलाई लोभ्याउने तालबाराही मन्दिरको पूर्ननिर्माण बेलैमा हुन जरुरी छ ।