
हत्गढी
काठमाडौं, २१ असोज/ बैंकमा रहेको आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ ।
संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव राखिएको हो । चेक अनादरको मुद्दामा खातावालालाई बिगोको पाँच प्रतिशत रकम जरिवाना र कैद सजाय हुन्छ ।
यसअघि चेक अनादरमा तीन महिना कैद र बिगो बराबर जरिवानाको व्यवस्था थियो । अब प्रस्तावित विधेयक पारित भएमा बिगो रकमको ५ प्रतिशत बराबर जरिवाना र एक महिनादेखि दुई वर्षसम्म कैद सजाय प्रस्ताब छ ।
पाँच लाख रूपैयाँसम्म बिगो भए एक महिना कैद, १० लाखसम्मको बिगोमा तीन महिनासम्मको कैद, ५० लाख रूपैयाँ सम्मको बिगोमा ६ महिना कैद र ५० लाख माथिको बिगोमा दुई वर्षसम्म कैद सजाय हुनेछ ।
विधेयक अनुसार चेकमा रहेको रकम भुक्तानी दिनेको खातामा नभए चेक धारकलाई नै सो चेक फिर्ता दिनु पर्नेछ ।
तर, धारकले चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिएर खातामा रकम जम्मा गरिदिन खातावालालाई जानकारी गराउनु पर्छ ।





