पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना

-


     क्लिक गण्डकी     
     असाेज ८ गते २०८० मा प्रकाशित


पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना

पोखरामा बजार अनुगमनः

पोखरा, ८ असोज/ पोखरामा बजार अनुगमन समिति कास्कीले बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार अनुगमनको क्रममा पोखरा ७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना गरेको छ । म्याद गुज्रेका सामान विक्री गरी उपभोक्तामाथि ठगी गरेको समितिले १ लाख रुपैयाँ जरिवाना तोकेको हो ।

समितिले स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मीट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेट लगाएतका करिब २८ हजार ९ सय ६० रुपैयाँ बराबरको म्याद गुज्रेको सामान नष्ट गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले जानकारी दिए ।

त्यसै गरी दालको लेवल नलगाएको, नूनको गोदाममा सरसफाई नगरेको भन्दै चेतावनी समेत दिएको छ । स्टोर्सका संञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर ३ दिन भित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ ।
त्यसैगरी पोखरा ३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्सले म्याज गुर्जेको १८ किलो रंगिन डुम्रि, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी सो स्टोर्सका संञ्चालक लाई १० हजार रुपैयाँ जरिवाना गरेको संयोजक ढकालले बताए ।

त्यसैगरी सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सूजी सहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नविकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । त्यसै गरी ५ हजार जरिमाना समेत तोकेको छ ।
यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्र सहित ३ दिन भित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन सभितिले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।



Tags: