
पोखराको मुख्यबजार न्युरोड
पोखरा, ७ असोज/ जिल्ला अनुगमन समिति कास्कीले चार्डपर्व शुरु भए सँगै अनुगमनलाई पनि तिब्रता दिएको छ । आइतबार अनुगमनका क्रममा पोखराको चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
बजार अनुगमनका क्रममा उपभोक्तालाई म्याद गुज्रिएका सामान विक्री गरी ठगी गरेको पाइएपछि ठाउँका ठाउँ जरिवाना गरेको हो । स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र ८ लिटर हेलो तेल गरी २१ पोका खानेतेल सहित लेवल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो ९ सय ग्राम सुपारी र केही कुहेको नरिवल समेत नष्ट गरेको छ ।
समितिले स्टोर्सका सञ्चालक बिवेक कुमार गुप्तालाई ३ दिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा हाँजिर हुन निर्देशन दिएको छ । त्यसैगरी समितिले पोखरा ५ प्रस्र्याङमा रहेको केसी स्टोर्सलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
स्टोर्समा विक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको ३ बोतल फ्यान्टा, प्रतिकिलो ९७ रुपैयाँमा खरिद गरेको चिनी १२० रुपैयाँमा विक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरेको समितिले जानकारी दिएको छ ।
स्टोर्सले नापतौलका यन्त्र समेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि ३ दिन भित्र प्रशासनमा हाँजिर हुन सञ्चालक तेजवहादुर केसीलाई निर्देशन दिएको छ । त्यसैगरी अनुगमन समितिले मालेपाटनमा रहेको आदर्श स्टोर्समा लेभल नलगाएको किरा परेको ओखर र कपुर गरी ८१५ रुपैयाँ वरावरको सामान नष्ट गरेको छ । सो स्टोर्सका संञ्चालक राकेश यादवलाई ३ दिन भित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा हाँजिर हुन निर्देशन दिएको छ ।
यसैबीच मालेपाटनमा नै रहेको नारायणी रिफाइनरी उद्योगले विना साइनबोर्ड पसल सञ्चालन गरेकोले प्रक्रिया पुर्याएर पसल सञ्चालन गर्न सञ्चालक जगत धामीलाई निर्देशन दिएको छ ।
पोखराका झण्डै २ दर्जन खाद्य स्टोर्सको वारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन थालेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । उनले अनुगमनलाई निरन्तरता दिने जानकारी दिए ।





