लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु, पहिलो दिन चार खेल

-


     क्लिक गण्डकी     
     भाद्र २९ गते २०८० मा प्रकाशित


लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु, पहिलो दिन चार खेल

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु, पहिलो दिन चार खेल

पोखरा, २९ भदौ/ लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ ।

संस्थाको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा हराउन सफल भयो । इन्द्र राज्य लक्ष्मी मा।विको खेल मैदानमा सुरु खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २६–२४ आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । चौथो सेटमा २५–१९ को जित निकाल्यो ।

यस्तै दोस्रो खेलमा नेपाल पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । नेपाल पुलिस क्लबले पुनरागमन जित निकाल्यो पहिलो सेट १६–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो । पुलिसले तीन अंक जोडेको छ ।

प्रतियोगिताको तेस्रो खेलमा एपिएफले गल्कोटलाई सोझो सेटमा पाखा लगायो । एपिएफले २५–२३, २५–२३ र २५–१८ को सेटमा सहजै हरायो । एपिएफको तीन अंक रहँदा गल्कोट अंक विहिन हुँदै तालिकाको पुछारमा छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र मणिमुकुन्द बीचको चौथो खेल ३–२ ले मणिमुकुन्दको पक्षमा रह्यो ।

पहिलो सेट गण्डकीले २५–२० ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २१–२५ ले गुमाएको गण्डकीले तेस्रो सेट पनि १७–२५ ले गुमायो । चौथो सेट २५–१७ ले गण्डकीको पक्षमा रह्यो । पाँचौ सेटमा मणिमुकुन्दले १५–१२ ले आफ्नो पक्षमा पार्दै पहिलो जित निकाल्यो । यो संगै गण्डकीको चार अंक रहेको छ भने मणिमुकुन्दले दुई अंक जोडेको छ ।

पहिलो दिन पाँच खेल हुने भनिएपनि एपिएफ र पुलिस बीचको खेल हुन सकेन । खेलमा प्रकाश नपुग्ने भएपछि खेल नभएको र शनिबार विहान हुने अफिसियलले जानकारी दिएको छ । शनिबार सात खेल हुनेछन् । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ ।

प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता छ । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।



Tags: