पोखराको पुम्दिकोटमा १४ करोड लगानीमा ड्रिम सिटी पार्क, एकोरियम देखी सिसाको पुल

-


     क्लिक गण्डकी     
     असार ३० गते २०८० मा प्रकाशित


पोखराको पुम्दिकोटमा १४ करोड लगानीमा ड्रिम सिटी पार्क, एकोरियम देखी सिसाको पुल

पोखराको पुम्दिकोटमा ड्रिम सिटी पार्क, एकोरियम देखी सिसाको पुल

पोखरा, ३० असार/ पोखरा २२ पुम्दीकोटमा पर्यटकलाई आक्रषर्ण थप गर्न मनोरञ्जन पार्क ‘ड्रिम सिटी’ सञ्चालनमा आएको छ । पुम्दिकोटमा रहेको महादेवको मूर्ति नजिकै पार्क रहेको छ । पुम्दिकोट महादेवको मन्दिर र पार्क एउटै समयमा अवलोकन गर्न सकिन्छ ।

२५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा हट एयर बलुनको फोटो बुथ, ‘विसिङ ह्याण्ड’, अम्ब्रेला पार्क, सिसाको स्काई वाक, झरना, रेष्टुरेन्ट लगायत सञ्चालनमा आइसकेको छ । पर्यटकहरूले फोटो भिडियो बनाउन सक्ने छन् । त्यसै गरी एक्वीरियम सञ्चालनको तयारीमा रहेको छ ।

ड्रिम सिटी प्रालिले करिब १४ करोड रुपैयाँ लगानीमा ड्रिम सिटी सञ्चालनमा आएको हो । पार्कमा युवा उद्यमीहरु विनोद पौडेल, श्यामकुमार बजगाई, दिवश गुरुङ र स्थानीयहरुको लगानी रहेको छ ।

पार्क भित्रै रहेको रेष्टुरेन्टमा एकैपटक २ सय जनाले सेवा लिन सक्ने सञ्चालक श्याम बजगाईंले बताए । पार्कबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमाल, धौलागिरी, फेवाताल, स्तुपा लगायतको दृश्यावलोकन गर्न सकिने बजगाईले बताए । पार्कलाई एउटा क्रुज शीप आकारमा निर्माण गरिएको छ ।

ड्रिम सिटीले नेपालकै ठूलो एक्वारियम अन्तिचरणमा रहेको उनले बताए । ४८ फीट लामो एक्वारियममा मानिसहरु प्रबेश गर्दा समुन्द्रमा प्रबेश गरेको अनुभव गर्ने छन् । पार्क भित्र प्रवेश गर्न २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसपछि भित्र रहेका अम्ब्रेला पार्क, विसिङ ह्याण्ड लगायतको अवलोकन गर्न सकिने छ ।

त्यसै गरी ४ सय ५० रुपैयाँमा पार्कको पूरै अवलोकन गर्न पाइन्छ भने रेस्टुरेन्टमा खाजा समेत दिने उनले बताए । अहिले ४० जनाले रोजगारी पाएको उनले बताए ।



Tags: