
रेवानको फुड एण्ड वेभरेज सम्बन्धि तीन दिने तालिम, सिकेका कुरा व्यवहारमा लगाउ
पोखरा, १९ असार/ खानेकुराका परिकारलाई अझ स्वस्थकर र गुणस्तरीय सेवा दिने उद्देश्यले रेवान पोखराले तीन दिने तालिम दिएको छ । रेवानमा आवद्ध सदस्यहरुका रेष्टुरेष्टमा कार्यरत ३० जनालाई तालिम प्रदान गरेको हो । रेवान पोखराको आयोजना, नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा फुड एण्ड वेभरेज सम्बन्धि तालिम प्रदान गरेको हो ।
समापन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका निमित्त प्रमुख नविन पोख्रेलले दक्षता हाँसिलका लागि तालिम महत्वपूर्ण रहने बताए । पर्यटन क्षेत्रमा दक्ष कामदार भए मात्रै पर्यटकलाई स्तरिय सेवा प्रदान गर्न सकिने उनको भनाई थियो ।
रेवान पोखराका अध्यक्ष नरेश भट्टराइले रेवानले यसअघि खाना सम्बन्धि विभिन्न तालिम प्रदान गर्दै आएको बताए । तालिमले अझ परिपक्क बनाउने बताउदै उनले आवश्यकता अनुसार तालिमको आयोजना गर्दै जाने बताए ।
तालिमका प्रशिक्षक नेपाल टुरिजम एण्ड होटल मेनेज्मेण्ट कलेजका प्रिन्सिपल प्रकास रेग्मीले एनटिएचएमसीले पोखरामा रहेका पर्यटन सम्वद्ध विभिन्न संघसंस्थासंगको सहकार्यमा विभिन्न तालिममा समन्वय गर्दै आएको बताए । प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्नेमा आफु विश्वस्त रहेको बताए । जानेका ज्ञान आफु मातहतका साथिहरुलाई पनि सिकाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना शर्मा बर्षाले पोखरा जस्तो महत्वपूर्ण पर्यटकिय क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुले पर्यटकलाई स्तरिय सेवा दिन सक्नुपर्ने औल्याइन् । रेवान पोखराका सल्लाहकार चौबहादुर गुरुङ्गले रेवान पोखरा विगत ३० वर्षदेखि पोखरामा खानाको गुणस्तर बृद्धिमा लागिपरेको बताए ।
रेवान पोखराका द्वितिय उपाध्यक्ष एवं तालिम संयोजक बसन्त गौतमले पर्यटन क्षेत्रले पश्किने विभिन्न सेवा मध्ये फुड एण्ड वेभरेज एउटा महत्वपूर्ण पक्ष भएको औल्याए । विभिन्न राष्ट्रबाट घुम्न आउने पर्यटकहरु यस विषयलाई गंभिरताका साथ लिने गरेको गौतमको भनाई थियो । महासचिव विकास भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।





