
शिव शिखर र इमेज सहरकारी विरुद्ध उजुरी दिन कास्की प्रहरीको आग्रह
पोखरा, २ असार/ शिव शिखर बहुउद्देश्यीय सहरकारी र इमेज बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।
कास्की प्रहरीले शुक्रबार सूचना जारी गरी सहकारी संस्थाका पदाधिकारीले सेयर सदस्यको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो ।
सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतको प्रमाणको सक्कल लिई उजुरी दिन प्रहरीले आग्रह गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहरकारीको पोखरा ५ पस्र्याङ र पोखरा १४ चाउथेमा कार्यालय छ ।
यहाँ ७ हजार २ सय बचतकर्ताहरुको कुल ५३ करोड ५० लाख रुपैयाँ पाउन सकेका छैनन् । भक्तपुरको कौशलटारमा प्रधानकार्यालय रहेको शिवशिखर सहकारीको देशैभरि ३६ शाखा छन् । साढे २ वर्षअघि पस्र्याङमा शाखा बिस्तार भएकोमा गत असारदेखी पोखरा १४ चाउथेमा शाखा खोलिएको थियो ।
पस्र्याङ शाखाका ५ हजार ५ सय र चाउथे शाखाका १ हजार ७ सय बचतकर्ता छन् । सहकारीले गत २७ माघमा सूचना नै टाँस गरेर केही दिनका लागि कारोबार बन्द गरेको जनाएको थियो ।
इमेज बचत तथा ऋण सहकारीको कार्यालय भने पोखरा ८, सिमलचौरमा छ । इमेजका संस्थापक बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली हुन् । उनी केही समय देखी बेपत्ता छन् ।





