गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

-


     क्लिक गण्डकी     
     असार १ गते २०८० मा प्रकाशित


जीतप्रकाश आले

जीतप्रकाश आले

पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेशसभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरे ।

कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ (३८.१ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६०.४ प्रतिशत) विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१.५ प्रतिशत) छुट्याइएको छ । बजेटले कृषि, स्वास्थ्य, पर्यटन र भौतिक पुर्वाधालाई पहिलो प्रथामिकतामा राखेर ल्याएको छ ।

डायलाइसिसको प्रतीक्षामा रहेकाको संख्या शून्य पु¥याउने उद्देश्य प्रदेश सरकारले लिएका छ । सरकारले क्यान्सरपीडितलाई एक लाख रुपैयाँसम्म सहायता दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षभित्र प्रदेशलाई ’उज्यालो गण्डकी’ घोषणा गर्ने प्रदेश सरकारको लक्ष्य छ । भौतिक पूर्वाधार शिर्षकमा ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तब्यमा उल्लेख छ । पुँजिगत शिर्षकमा बिनियोजन भएको २० अरब १९ करोडको बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ ।

प्रदेशको आम्दानीमा संघ सरकारबाट सशर्ततर्फ ४ अर्ब ९४ करोड १५ लाख रुपैयाँ, समानीकरणतर्फ ७ अर्ब ६२ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, समपूरकतर्फ ८४ करोड रुपैयाँ र विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । आन्तरिक राजस्व ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।



Tags: