अन्नपूर्ण केबलकारले ३१ करोडको सेयर निस्कासन गर्दै

-


     क्लिक गण्डकी     
     जेठ २५ गते २०८० मा प्रकाशित


अन्नपूर्ण केबलकार

अन्नपूर्ण केबलकार

पोखरा, २५ जेठ/ पोखरा महानगरपालिका १८ मा सन्चालनमा रहेको अन्नपूर्ण केवलकार लिमिटेडले ३१ करोड रुपैयाँ बराबरको साधारण शेयर ल्याउदै छ । त्यसै गरी कम्पनीले संस्थापक सेयरधनीलाई ३४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर प्रदान गर्दै छ ।

कम्पनीले वैशाख २९ गते सम्पन्न विशेष साधारणसभाले संस्थापक शेयरधनीलाई १०० रुपैयाँ अकिंत दरको ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको गत जेठ ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनीहरुलाई रकम जम्मा गर्न आवेदन समेत खुला गरेको छ । कम्पनीका संस्थापक सेयरधनीहरुले ९० कित्ता बराबर ३४ कित्ता अर्थात ३७.७७ प्रतिशतको अनुपातमा हकप्रद सेयर वापतको रकम थप गर्नुपर्नेछ ।

कम्पनीले संस्थापक सेयरधनीलाई ३४ करोड बराबरको हकप्रद बिक्री गरेपछि सर्वसाधरणलाई ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ जारी गर्ने जनाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

केबलकारमा संस्थापक सेयरधनीहरुको ९० करोड लगानी छ । ३४ करोडको हकप्रद बिक्री पश्चात संस्थापकहरुको लगानी १ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी, जापानी लगानीकर्ता तथा केही स्थानीयहरु संस्थापक सेयरधनी रहेका छन् ।

सर्वसाधरणलाई ३१ करोडको सेयर बिक्री गरेपश्चात कम्पनीको चुक्तापुँजी एक अर्ब ५५ करोड पुग्नेछ । जसमा संस्थापकको ८० प्रतिशत तथा सर्वसाधरणको २० प्रतिशत लगानी हुनेछ । आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानीका योजना अगाडी बढाएको छ ।

केवलकारको माथिल्लो स्टेशन सराङकोटमा कम्पनीले पञ्चमुखे गणेशको मूर्ति, भ्यू टावर, मूर्तिसहित अन्य संरचना निमार्ण अगाडी बढाएको छ । पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरदेखि सराङकोट डाडासम्मको २.३ किलोमिटर दूरीमा केवलकार संचालन गर्दै आएको छ ।

केबलकारले १८ वटा गोन्डोला मार्फत सेवा प्रदान गर्दै आएको छ । केबलकारमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणमा रहेको छ । केवलकार चढेर सराङकोटबाट सूर्योदय, सुर्यास्त तथा हिमालको दृष्य हेर्न सकिन्छ । अहिले दैनिक ५ सय देखी ८ सय जनाले केबलकारमा यात्रा गर्ने गरेका छन् ।



Tags: