
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम स्वास्थ्य, शिक्षा र कृषिमा जोड्
पोखरा, २१ जेठ/ गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा र कृषिमा जोड्दिएको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका स्वास्थ्य, शिक्षा र कृषिमा जोड् दिए ।
नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले क्यान्सर पीडित विरामीलाई थप १ लाख सहयोग गर्ने भएको छ । भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप १ लाख सहयोग गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको हो । यस्तै, ६० वर्ष माथिका र १० वर्षमुनिका नागरिकको ओपीडी र ल्याव परीक्षण निःशुल्क गर्ने कार्यक्रम ल्याएको छ ।
मुटुरोगका विरामीलाई डायलायसिसमा पालो कुर्न पर्ने अवस्थालाई शून्यमा झार्ने सरकारको लक्ष्य छ । अस्पताल बाहिर हुने सुत्केरीलाई शून्यमा झार्ने, प्रदेशभित्रका सबै अस्पतालमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा सरकारले गरेको छ ।
कृषिमा चक्ला बन्दी कार्यक्रमलाई निरन्तरता दिने, उत्पादनका आधारमा सहुलियत दिने लगाएतका कार्यक्रम रहेका छन् । त्यसै गरी गण्डकीमा विद्यार्थीहरुको बहुप्रतिभाको पहिचान गर्न फ्राइडे फर फ्युचर कार्यक्रम लागू गर्ने कार्यक्रम ल्याएको छ ।
विद्यार्थीहरुका शैक्षणिक बाहेक अतिरिक्त क्रियाकलाप मार्फत प्रतिभा पहिचान कार्यक्रम आयोजना गर्न लागिएको हो । यस्तै, प्रदेशभित्रका सामुदायिक क्याम्पसलाई कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले केन्द्र सरकारको जस्तै हुबहु नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए ।
प्रदेश सरकारले पहिलो ५ वर्षे कार्यकाल पूरा गरी छैटौं वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम हो । रोजगारी, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर प्रदेशवासीले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउएको सरकार पक्षका नेताहरु बताउ छन् ।
नीति तथा कार्यक्रममा एक निर्वाचन क्षेत्र एक सडक, पोखरामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण, मुस्ताङमा हाइ अल्टिच्युड खेल मैदान निर्माण र एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औं पञ्चवर्षीय योजना, दिगो विकासका लक्ष्य, राजनीतिक दलहरूले व्यक्त गरेका प्रतिबद्धता र प्रदेशवासीका अपेक्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।





