
पोखरामा ओलम्पियनलाई सम्मान
पोखरा, २१ जेठ/ पोखरामा नेपालका ओलम्पियनहरुलाई सम्मान गरिएको छ । नेपाल ओलम्पियस संघको आयोजनामा ओलम्पियनहरुको पुर्नमिलन तथा सम्मान समारोहको अवसरमा पोखरा महानगर र संघले ओलम्पियनहरुलाई सम्मान गरेको हो । सन् १९८४ अमेरीकाको लसएन्जल्समा भएको ओलम्पिक गेम्समा सहभागि भएका ८ जना नेपाली ओलम्पियनहरुलाई सम्मान गरिएको हो ।
ओलम्पिकमा सहभागि एथ्लेक्टिक्सका अमिदी यादव, अर्जुन पण्डित र पुष्पराज ओझा, भारतोलनका सुरेन्द्र हमाल, जगदिश प्रधान, वक्सिङका प्रविन तुलाधर, मानबहादुर श्रेष्ठ र दलबहादुर राना मगर सम्मानित भए । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान पत्रको साथमा खादा लगाएर सम्मान गरे ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक ५ हजार रुपैया प्रदान गर्ने घोषणा गरे । गण्डकी प्रदेशबाट हाल ७ जना ओलम्पियनहरु रहेका छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालका हिमालसंग जोडेर अझै पनि विभिन्न खेलकुद प्रतियोगिता गर्न नसकिएको बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीहरुलाई व्यवसायीक बनाउनु पर्नेमा जोड दिए । एसियन गेम्समा प्रथम हुने नेपाली खेलाडीलाई ३२ लाख, दोश्रो हुनेलाई १९ लाख र तेश्रो हुनेलाई भने १३ लाख पुरस्कार प्रदान गरिने उनले बताए । पोखरा महानगरका मेयर धनराज आचार्यले ओलम्पियनहरुलाई पोखरामा स्वागत र मायाको चिनो प्रदान गर्दै खेलकुद क्षेत्रमा पोखराको विकास गर्न आफु लागि परेको बताए ।
झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिक (२ जना) गरी सहभागिता जनाएका थिए । सबैभन्दा धेरै एथलेटिक्सबाट सहभागिता जनाएको इतिहास छ । त्यस्तै बक्सिङ, जुडो लगायतका खेलहरुबाट समेत ओलम्पिकमा नेपालले उपस्थिति जनाईसकेको तथ्य छ । नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी खेलाडीहरु पुर्नमिलनको लागि पोखरामा छन् ।





