
मुआथाई गण्डकी प्रदेश संघको अध्यक्षमा दिपक गोदार
पोखरा, २२ चैत/ मुआथाई गण्डकी प्रदेश संघको अध्यक्षमा दिपक गोदार चयन भएका छन् । प्रशिक्षक समेत रहेका गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो ।
महासचिवमा खगेन्द्र क्षत्री, सचिवमा आकृति भण्डारी(बाग्लुङ), कोषाध्यक्षमा विजय गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ईश्वर श्रेष्ठ (तनहुँ अध्यक्ष), शुशिल सुनार (पर्वत), सुजन लामिछाने (बाग्लुङ, महेन्द्र थापा (स्याङजा), सुनिल थापा (कास्की अध्यक्ष) छन् । त्यस्तै जितु शाही (कास्की), विकास गुरुङ (कास्की) र कृष्ण कार्की (कास्की) रहेका छन् ।
पोखरामा २०६२ सालदेखि मुआथाई खेलको शुरुवात भएको हो । २०६२ सालमा दिपकबहादुर गोदारले थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएपछि पोखरामा मुआथाई खेलको शुरुवात भएको हो । यद्यपी २०६६ सालमा अन्तराष्ट्रिय मुआथाई महासंघ (आईएफएमए, इन्टरनेशनल फेडेरेसन अफ मुआथाई एशोसियसन) बाट अन्तराष्ट्रिय सम्बन्धन प्राप्त गरी राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हो ।
नेपालबाट सन् २०१० मा दिपकबहादुर गोदा, गणेश कक्षपति र निर्मल पहारी थाइल्याण्डमा सहभागि भएका थिए । सन २०१६ मा तुर्किमिनिस्तानमा पोखराका खेलाडी नवराज गुरुङ इन्डोर एशियन गेम्समा सहभागिता जनाएका थिए । अन्तराष्ट्रिय एरिनामा रुपक नेपाली, तुलसी थापा लगायत सहभागिता जनाई सकेका छन् ।
पोखरामा २०६४ सालदेखि मुआथाई खेलको प्रशिक्षण शुरु भएको हो । २०६८ सालमा जिल्ला संघ गठन गरेपछि खेलले व्यापकता पाएको थियो । नयाँ प्रदेश संघ गठन भएसँगै संघले रेफ्री कोर्ष, मुआथाई कोर्ष तथा आत्मरक्षा तालिम, पोखरा महानगपालिका मुआथाई च्याम्पियनसिप तथा राष्ट्रिय मुआथाई च्याम्पियनसिप लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ । नवगठित संघको उदघाटन गण्डकी प्रदेश सदस्य प्रकाश बरालले गरेका थिए ।
उनले नवगठित संघका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलकुदमा म भन्नेबाट हामी भन्ने परिवर्तन हुदैंन तबसम्म खेलकुदको विकास सम्भव नहुने ठोकुवा गरे । ‘म अटाएर होईन, हामी खेलकुदमा अटाउनुपर्छ भन्ने सोच हुन्ुपर्छ ।’ उनको भनाई थियो । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, मुआथाईका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठ, पूर्व अन्तराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई लगायतले खेलकुदको विकासमा युवाहरु नै जुट्नुपर्नमा जोड दिएका थिए ।





