
अन्नपूर्ण म्याराथन फाइल तस्बिर
कास्की, ११ चैत्र/ अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन आउँदो जेठ तेस्रो साता हुने भएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो ।
कोभिड १९ का कारण दुई वटा संस्करण स्थगित भए पनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको शुक्रबार घान्द्रुकमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन हुँदै आएको थियो ।
प्रतिकूल परिस्थितिका कारण गतबर्षका कार्यक्रम स्थगित भए पनि यस पटक पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरूङले बताए ।
वि.सं. २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति भएको थियो । पर्यटन क्षेत्रलाई धाराशायी हुन नदिनका विषेश राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।





