राजीनामा माग्नुको तुक छैन– क्रिकेट संघका अध्यक्ष चन्द

-


     क्लिक गण्डकी     
     माघ १८ गते २०७९ मा प्रकाशित


राजीनामा माग्नुको तुक छैन– क्रिकेट संघका अध्यक्ष चन्द

राजीनामा माग्नुको तुक छैन– क्रिकेट संघका अध्यक्ष चन्द

पोखरा, १८ माघ/ नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको बताएका छन् । पोखरामा क्यानको मंगलबार बसेको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको बताए ।

उनले राजीनामा बाहिर हल्ला गरेर माग्ने नभई साधारण सभामा माग्ने वा ३३ प्रतिशतका हस्ताक्षर लिएर आउन चुनौती दिए । उनले ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएमा ३५ दिनभित्रमा विशेष साधारण सभा गरे आफु अध्यक्ष पद छाड्न तयार भएको बताए ।

उनले राष्ट्रिय खेलकुद परिषदले पठाएको दुई सदस्यको कुनै औचित्य नै नभएको बताए । नयाँ व्यवास्था अनुसार राष्ट्रिय खेलकुद परिषद्ले पठाएको सदस्यको अधिकार नभएको बताए । राजीनामा मान्ने ७ जना मध्ये २ जना राष्ट्रिय खेलकुद परिषद्ले मनोनयन गरेर पठाएको छन् ।

पोखरामा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनीक गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको सुनाए । अध्यक्ष चन्दले तीन महिनाको अनुशासन कारवाही भएपछि फुकुवा गरिएको बताए ।

संघको वार्षिक साधारण सभा फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसै गरी नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झालाई दिने निर्णय गरेको छ । संघले सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि महिला तथा पुरुष खेलाडीहरुलाई बर्गिकरणको आधारमा केन्द्रीय करारमा राख्ने निर्णय समेत गरेको छ ।

संघका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले कार्यबाहक सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन् । नेपाल टी–२० लिग आयोजना गर्न भएको सेभेन थ्री स्पोर्टस सँगको सम्झौता एकपक्षीय रुपमा रद्द भएको प्रसंगमा अध्यक्ष चन्दले संघले पाउनुपर्ने पैसा पाउनुपर्ने भन्दै त्यसको लागि आवश्यक कानूनी प्रक्रियामा जाने बताए ।