टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ

-


     क्लिक गण्डकी     
     माघ ९ गते २०७९ मा प्रकाशित


टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ

पोखरा, ९ माघ/ ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले पुरुषतर्फ जित निकालेका छन् ।

नेपाल आर्मीले विदेशी पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–० को सोझो सेटमा जित निकाल्दा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पाखा लगायो ।

प्रतियोगितामा नेपाल आर्मीले सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंका विरुद्ध पहिलो सेट २५–२० दोश्रो सेट २५–१६ र तेश्रो सेट २५–१० ले जित्यो । जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित समेत हो । उसले ३ अंक प्राप्त गरेको छ । खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र वेष्ट स्पाइकर धन बहादुर भट्ट घोषित हुँदै नगद तथा गिफ्ट भौचर प्राप्त गरे ।

अर्को खेलमा एपिएफले पुलिस विरुद्ध जित निकाल्दै ३ अंक प्राप्त गरेको छ । जारी लिगमा एपिएफको यो दोश्रो जित हो । एपिएफले दुई खेल लगातार जित्दै ६ अंक बटुलेको छ । पुलिस विरुद्धको खेलमा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपिएफ दोश्रो सेटमा भने २५–२१ ले पुलिसलाई सुम्पिन पुग्यो ।

तेश्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले जित्दै एपिएफले खेल आफ्नो पक्षमा पार्यो । खेलमा वेष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा घोषित भए ।

प्रतियोगितामा महिलातर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २५–११ ले जितेको एपिएफले दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१६ ले जित्दै विजयी सुरुवात गरेको छ ।

उक्त खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भइन् । प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।



Tags: