
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ
पोखरा, २५ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीसहित ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् ।
मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री अधिकारी नेतृत्वमा ३३ सांसदको समर्थन गरेका छन् । नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ सांसदको समर्थन दिएका छन् ।
एमाले संसदिय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री बन्न ३३ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । अधिकारीले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रदेश प्रमुखको कार्यालयमा सोमबार दाबी प्रस्तुत गरेका थिए ।
अधिकारीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरे । गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३१ जना सांसद भए बहुमत पुग्छ ।