गण्डकीका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिए

-


     क्लिक गण्डकी     
     पौष १३ गते २०७९ मा प्रकाशित


गण्डकीका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिए

गण्डकीका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिए

पोखरा १३ पुस/ गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बस्याललाई सपथ खुवाए ।

संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई सपथ खुवाए । पर्वत (ख) बाट निर्वाचित बस्यालले पुस १४ गते अन्य सांसदलाई प्रदेश सभामा सपथ ग्रहण गराउने छन् ।

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन बोलाएका छन् । संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेश सभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गर्नेछन् ।

प्रदेश सभा सुरु भएलगत्तै सरकार गठनका लागि आह्वान गर्ने तयारी छ । गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रबेश गरेका राजीव गुरुङ (दीपक मनाङे) सहित ६० सांसद छन् ।



Tags: