
साइकल दौड
पोखरा, ६ पुस/ पोखरामा आयोजित ५० किलोमिटर दोस्रो मेयर कप साईकल दौड प्रतियोगिता उपाधि पुरुष तर्फ हिक्मत विकले जितेका छन् । उनले ३ घण्टा १२ मिनेटमा निधारीत दुरी पुरा गरे । सन्दीप सुन्धौलीले ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै दोस्रो भए । त्यसैगरी सुमित गुरुङले निर्धारित ५० किलोमिटरको दुरीलाई ३ घण्टा ४८ मिनेट ०९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा सुरक्षित रहे ।
महिला तर्फको सोही इभेण्टमा लक्ष्मी मगरले उपाधि आफनो नाममा लेखाईन् । उनले निधारीत दुरीलाई ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा अन्य दुई खेलाडीले भने दुरी पुरा गर्नै सकेनन् । सुधा राईले दोस्रो स्थान रहँदा सोफिया विश्वकर्मा तेस्रो स्थानमा आईन् ।
त्यसैगरी ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा नारायण मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्डमा पुरा गर्दै माष्टर्सको उपाधि जिते । ४ घण्टा १ मिनेट २५ सेकेण्डमा पुरा गर्दै देवबहादुर बोहोराले दोस्रो स्थानमा आउँदा ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा पुरा गरेका बावुराम विश्वकर्मा तेस्रो स्थानमा रहे । कमल गुरुङ र जाम्फेल ढुण्डुपले सान्त्वना पुरस्कार थापे ।
प्रतियोगितामा महिला तर्फ ३ जनाले सहभागिता जनाएका थिए । पुरुष तर्फको प्रतिस्पर्धामा १८ जना र माष्टर्स (४०वर्षमाथिको) उमेर समूहमा ६ जनाले सहभागिता जनाएका थिए । महिला तथा पुरुष विजेतालाई नगद ३०/३० हजार प्रदान गरिएको थियो । दोस्रो हुनेलाई २० हजार र तेस्रो हुने दुवैलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो । माष्टर्स तर्फको विजेताले १०, ७ र ५ हजार पाउँदा सान्त्वनाले समेत समान ५/५ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा महानगर खेलकुद कमिटिका अध्यक्ष दिपक गोदार लगाएतले पुरस्कार वितरण गरे ।
पोखरा–२१ कमेरेबाट शुरुभएको रेस मट्टिखान हुदैं विभिन्न ठाँउ घुमेर कमेरेमै आएर टुंगिएको थियो । ५० किलोमिटरको दुरी(दुई फन्को लगाएर) लाई विकले ३ घण्टा १२ मिनेटमा पुरा गर्दै उपाधि जिते । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा साईक्लिङ संघ कास्कीको प्राविधिक सहयोग र साईकल सिटीको समन्वयमा भएको थियो ।






