
विश्वकपमा आजबाट सेमिफाइनलका खेल शुरु, अर्जेन्टिना र क्रोएसिया भिड्दै
एजेन्सी/ फिफा विश्वकप २०२२ अन्तरगत आज मंगलबार सेमिफाइनलको खेल सुरू हुँदैछन् । मंगलबार राति पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच हुनेछ । बुधबार साविक विजेता फ्रान्स र मोरक्को बिच हुनेछ ।
पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम इच्छाको निर्क्यौल गर्नेछ । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेसीका लागि आफ्नो अन्तिम धोकोको रुपमा रहेको विश्वकपको ट्रफी उचाल्नका लागि क्रोएसियाविरुद्धको खेल महत्वपूर्ण छ ।
गत संस्करणको उपविजेता क्रोएसियाका विशेषगरी मिडफिल्डरहरू अर्जेन्टिनालाई चुनौती दिनेछन् । मेसीले क्लब फुटबलमा सबै उपलब्धि हासिल गरिसकेका छन् ।
अर्जेन्टिनाले पछिल्लो पटक ३६ वर्षअघि सन् १९८६ मा म्याराडोनाको बेलामा विश्वकप जितेको थियो । सन् २०१४ मा अर्जेन्टिनाका लागि उपाधि जित्ने अवसर आएको थियो ।
तर फाइनलमा जर्मनीसँग पराजित हुँदा मेसी र अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो । फेरि आठ वर्षपछि मेसीका सामू अर्को अवसर आएको छ। तर त्यसका लागि अर्जेन्टिनालाई सेमिफाइनलमा क्रोएसियालाई पन्छाउन सजिलो भने छैन।
अर्कोतर्फ क्रोएसियाका लागि पनि यसपटक सन् २०१८ को पीडा भुलाउने अवसर आएको छ । २०१८ को रसिया विश्वकपमा फाइनल पुगेर फ्रान्ससँग पराजित भएको पीडा उनीहरूले अझै बिर्सिएका छैनन्।





