
अनिश थापामगर
पोखरा, १ कात्तिक/ एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् । अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे ।
सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दुरी पूरा गर्दै कास्य पदक जिते । राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।

त्यसै गरी महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । वृन्द्राले ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दुरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै काँस्य जितिन् ।





