गण्डकीका मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

-


     क्लिक गण्डकी     
     असाेज २४ गते २०७९ मा प्रकाशित


गण्डकीका मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

गण्डकीका मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

पोखरा, २४ असोज/ गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबार मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका हुन् ।

मन्त्री थापाले गण्डकीको कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेबारी पाएपछि प्रयोग गर्दै आएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयको सचिव शम्भूप्रसाद रेग्मीलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरेका छन् ।

निर्वाचनलाई मर्यादित बनाउन सवारी सुविधा फिर्ता गरेको मन्त्री थापाले बताएका छन् । ‘गण्डकी प्रदेश सरकार अन्तर्गत कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सरकारी गाडी सुविधा प्राप्त गरेको थिएँ ।

आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु ।’, उनले भने ।

जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा हिजो पनि आफु सचेत रहेको र आज पनि भएको अभिव्यक्ति उनको छ । आगामी समय पनि सो कार्यले निरन्तरता पाउने भनाई मन्त्री थापाको छ ।

मन्त्री थापाले २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।



Tags: