चलचित्र बाबरीको टोली पोखरामा, पोखरेली दर्शकको माया पाउनेमा आशावादी कलाकार

-


     क्लिक गण्डकी     
     असाेज १० गते २०७९ मा प्रकाशित


चलचित्र बाबरीको टोली पोखरामा, पोखरेली दर्शकको माया पाउनेमा आशावादी कलाकार

चलचित्र बाबरीको टोली पोखरामा, पोखरेली दर्शकको माया पाउनेमा आशावादी कलाकार

पोखरा, १० असोज/ चलचित्र “बाबरी” टीमले पोखरा आएर पत्रकारसँग भेटघाट गरेको छ । असोज १४ गते शुक्रबारबाट सार्वजनिक हुन लागेको चलचित्र “बाबरी” का कलाकार धिरज मगर, अदिती बुढाथोकी र धिरज नटकरले पोखरा आएर पत्रकारसँग भेटघाट गरेका हुन् । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा उनीहरुले पोखराबाट आफुले मुटुभरीको माया पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

चलचित्रकी मुख्य पात्र अदिती बुढाथोकीले आफु बाबरीको प्रेमीकाको रुपमा प्रस्तुत भएको बताएकी छिन् । केटाहरुसँग नडराउने तर प्रेमील भूमिका उनको छ । आफ्नो दोस्रो चलचित्र भएको उल्लेख गर्दै अदितीले बाबरीबाट धेरै अपेक्षा राखेकी छिन् । “बाबरी मेरा लागि दोस्रो चलचित्र हो । यसबाट धेरै अपेक्षा गरेको छु । गीत र ट्रेलर दर्शकले जसरी मन पराउनुभएको छ । आशा छ, फिल्मलाई पनि मन पराउनुहुनेछ ।’, उनले भनिन् ।

उसो त अदिती भारत बस्दै आएकी छिन् । भारतीय केही म्युजिक भिडियोहरुमा समेत उनको अभिनयलाई देख्न सकिन्छ । अदितीलाई नेपाली चलचित्र उद्योगमा नै रम्न मन छ । अफर आएको खण्डमा भारतका चलचित्रमा समेत अभिनय गर्ने भनाई उनको छ । बाबरी एक प्रेमील कथा भएकाले र आफुलाई मन परेकाले अनुबन्धित भएको उनले बताइन् ।

यसअघि “इन्टुमिन्टु लण्डनमा” चलचित्रमा अभिनय गरेका धिरज मगर पनि बाबरीबाट आशावादी देखिन्छन् । आफ्नो पहिलो चलचित्रमा देखिएका कमीकमजोरीलाई बाबरीमा सुधार गरेको भनाई उनको छ । बाबरीमा उनी सानो काजीको रुपमा प्रस्तुत भएका छन् । ठकुरीको छोरा गाउँको गन्यमान्य क्यारेक्टर उनको छ । भन्छन्,“करिब तीन वर्ष पछि बाबरी मार्फत पर्दामा आएको छु । पहिलो चलचित्रमा मेरो अभिनयलाई जसरी दर्शकले मन पराउनुभएको थियो, बाबरीमा समेत मन पराउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।’, उनले भने । बाबरी समाजमा नै भइरहेको घटना परिघटनाको कथा भएको उनले बताए ।

बाबरी मार्फत डेब्यु गरेका कलाकार हुन् धिरज नटकर । लामो समय भारतमा बसेका धिरजलाई नेपाली भाषा बोल्न समस्या छ । तर पनि उनले कोसिस गरेका छन् । जसलाई बाबरीको ट्रेलरमा देख्न सकिन्छ । उनी आफै पनि नेपाली भाषा सिक्दै गरेको बताउँछन् । नटकर बाबरीबाट आशावादी छन् । भन्छन्, “चलचित्र बाबरी तपाई हाम्रै कथा हो । जसमा मेरो भूमिकालाई समेत दर्शकले हेर्न पाउनुहुनेछ । लवजमा केही समस्या अवश्य छ । जसलाई सुधार्दै लैजाने प्रयत्न रहनेछ । म मेरो आमाको प्रेरणाले नै यस क्षेत्रमा प्रवेश गरेको हुँ ।” बाबरीमा उनी प्रेमील भूमिकामा छन् । जसमा उनको टक्कर धिरज मगर सँग हुन्छ ।

पोखराको मार्केटिङ सम्हालेका बाबरी प्रोडक्सन टीमका सुरबीन वान्तवा राई बाबरी चलचित्र सफल हुनेमा विश्वस्त छन् । हर प्रेमी प्रेमीकाको कथा भएकाले पनि दर्शकले मायालु तवरले चलचित्रलाई हेर्ने भनाई उनको छ । उनले चलचित्र हङकङ, जापान,कोरिया,युके लगायतका देशहरुमा समेत प्रदर्शन हुने बताए ।

मोरङको लेताङ्ग, भारतको सिक्किम र काठमाडौंमा छायाँकन गरिएको बाबरीलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज नटकरसँगै बादल भट्ट, कमलमनि नेपाल, उर्मिला बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निर्माताहरु गणेश बुढाथोकी, पुष्पा लता बुढाथोकीको लगानी छ । काली प्रसाद बासकोटा, सुजन चापागाई, अनमोल गुरुङको संगीत रहेको बाबरीको शिर्ष गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।