सरकारी जागिरेले छोरा छोरी सरकारी बिद्यालयमा पढाएमा शिक्षामा सुधार हुन्छः मन्त्री बराल

-


     क्लिक गण्डकी     
     भाद्र १ गते २०७९ मा प्रकाशित


रामजीप्रसाद बराल

रामजीप्रसाद बराल

पोखरा १, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सरकारी नुन पानी खानेहरुले सरकारी बिद्यालयमा आफ्ना छोरा छोरी पढाएमा शिक्षामा सुधार हुने बताउनु भएको छ । पोखरा १६ लामाचौर स्थित इन्द्रराज्यलक्ष्मी माविको ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत शैक्षिक प्रर्दशनीको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

सरकारी बिद्यालयहरुको शिक्षामा विस्तारै सुधार हुदै आएको बताउदै मन्त्री बरालले सरकारी शिक्षामा थप गुणस्तर कायम गर्न सरकारी नुन पानी खानेहरुले कम्तिमा सरकारी बिद्यालयमा आफ्ना छोरा, छोरी तथा नाति नातिनाहरु पढाउने सिस्टम गर्न सके राम्रो हुने बताउनु भयो । उहाँले निजी बिद्यालयहरुको बिरोध गर्नु भन्दा सरकारी बिद्यालयमा सुधार गर्न तर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनु भयो । सिपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउदै मन्त्री बरालले श्रोतसाधनलाई ठिक ढंगले प्रयोग गरी उद्यमशिल तथा स्वरोजगार हुने बताउनु भयो । साथै उहाँले रैथाने जातिका छोराछोरीलाई समेत आफ्नो नजिकको बिद्यालयमा पढाउनु पर्नेमा जोड दिनु भयो ।

माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएको मन्त्री बरालले संघ सरकारले प्रदेशहरुलाई दिनुपर्ने अधिकार नदिएको कारण पछिल्लो समयमा संघियता माथि नै प्रंश्न उठन थालेको बताउनु भयो । बिद्यार्थीहरुले मेहनत गरी निर्माण गरेको शैक्षिक प्रर्दशनीको निकै चासोका साथ अवलोकन गर्दै मन्त्री बरालले बिद्यालयमा हाल आवश्यक भएको प्रशासनिक भवन तथा सभाहल निर्माणमा थप सहयोग गर्ने बताउनु भयो ।

नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले भुगोल सुहाउदो प्राविधिक, नैतिक, सिप, उद्यमशिलता हुने शिक्षा आवश्यक भएको बताउनु भयो । पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ५ बर्षको अन्तरालमा मन्त्री बरालको पहलमा पहिलो पटक प्रदेशबाट उत्तः बिद्यालयमा बजेट विनियोजन भएकोमा खुसि व्यक्त गर्दै थप सहयोग गर्न आफुहरु समेत तयार भएको बताउनु भयो । पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले मजदुर, अस्थायी बसोबास गर्नेका छोराछोरीहरु बढी अध्ययन गर्ने उक्त बिद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न कठिन हुने गरेको बताउनु भयो ।

नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले उक्त बिद्यालयमा उल्लेखनिय रुपमा शैक्षिक सुधार भएको दाबी गर्नु भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दील बहादुर थापा, शिक्षक सिता पौडेल, बिद्यार्थी सृष्टिका खड्का लगायतले शिक्षाको बारेमा वोलेको बिद्यालयका प्राचार्य केशव प्रसाद अम्गाँईले बताउनु भयो । २०१० सालमा स्थापना भएको बिद्यालयमा हाल ९ सय ३१ जना बिद्यार्थी, ४८ जना कर्मचारी रहेको बिद्यालयले जनाएको छ ।



Tags: