कास्कीकोटमा फिल्म स्टुडियो बन्ने

-


     क्लिक गण्डकी     
     श्रावण २४ गते २०७९ मा प्रकाशित


फाइल तस्बिरः ‘हाईवे टु धम्पुस’ को छायांकन पोखरामा हुदै ।

फाइल तस्बिरः ‘हाईवे टु धम्पुस’ को छायांकन पोखरामा हुदै ।

सागर राज तिमिल्सिना
पोखरा, २४ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा फिल्म स्टुडियो बनाउन चलचित्र विकास बोर्ड अघि सरेको छ । बोर्डका अध्यक्ष भुवन केसी सहित टोलीले निमार्ण स्थल कास्कीकोटको अवलोकन गरे ।

पोखरा २४ कास्कीकोटको धामको गराको केसीले अवलोकन पछि गण्डकी प्रदेशको लागि कास्कीकोट नै उपयुक्त स्थल भएको बताउदै अनुमति लिएर आगाडी बढ्ने बताए । उनले सरकारले सात वटै प्रदेशमा फिल्म स्टुडियो निमार्ण गर्ने लक्ष्य राखेको बताए ।

गण्डकी प्रदेशको कास्कीकोटमा काम अगाडी बढाउने र अन्य प्रदेशको पनि प्रक्रिया अगाडी बढाउने बताए । उनले टोलीको प्रतिवेदनको आधारमा स्टुडियो बनाउने जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए ।

सरकारले दुई वर्ष पहिले सातै प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण छनौट समिति बनाएको थियो । समितिले गण्डकीका प्रदेशका ११ जिल्लामा अवलोकन पछि पोखराको कास्कीकोटलाई सिफारी गरेको थियो ।

पोखरा २४ कास्कीकोटको धामको गरालाई फिल्म स्टुडियो बनाउन दिन पोखरा महननगर, गण्डकी प्रदेश सरकार, संघिय सरकार हुदै छनौट गरेर चलचित्र विकास बोर्ड सम्म पुगेको पोखरा २४ का पुर्व वडा अध्यक्ष ओम सुबेदीले जानकारी दिए । ‘डिपिआर तयार पारेर सम्झौता गर्ने काम हुदै थियो,’ सुबेदीले भने ‘निर्वाचन आयो अनि काम नै रोकियो ।’ कास्की कोटमा फिल्म स्टुडियोका लागि आवश्यक जग्गा रहेको उनले बताए ।

शाह वंशको उद्गमस्थल मानिने कास्कीकोट सुन्दर र वरपरका सुन्दर दृश्य हेर्न पाइने भएकाले पनि फिल्म स्टुडियो बनाउन उपयुक्त रहेको पोखरा वडा नम्बर २४ का वडा अध्यक्ष भरत अधिकारीले बताए । उनले हिमशृंखला, पोखरा बजार, फेवाताल र वरपर रमणिय डाडाँ देख्न सकिने बताए । बोर्डको अवलोकनका बेला टोलीमा आफु जान नपाएपनि स्थानीय फिल्म स्टुडियो निमार्णका लागि दिन सकारात्मक रहेको उनले बताए । स्टुडियो निमार्णपछि नेपाली मात्र नभै विदेशी चलचित्र पनि छायांकनका लागि आउने सक्ने उनको भनाई थियो ।

केही वर्ष देखी सरकार र चलचित्र कर्मिले फिल्म स्टुडियोको कुरा चलाए पनि अहिले सम्म बन्न भने सकेको छैन । कास्कीकै अस्ताममा पनि केही वर्ष पहिले ‘फिल्म सिटी’ बनाउने योजना बोर्डले ल्याएको थियो ।



Tags: ,