पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालनमा आउने

-


     क्लिक गण्डकी     
     श्रावण २२ गते २०७९ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, २२ साउन/ सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै सुरु गर्ने र त्यसपछि अन्तर्राष्ट्रिय उडानका लागि तयारी गरिने छ ।

विमानस्थलको दक्षिणतर्फ रहेको रिठेपानी डाँडा कटान, ल्यान्डफिल साइटको व्यवस्थापन र बर्खाको भेलबाढी तर्काउने संरचना निर्माण भने अझै पुरा हुन सकेको छैन । चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको यो विमानस्थल यसअघि २०२१ जुलाई १० (२०७८ असार) भित्र सक्ने लक्ष्य राखिएको थियो तर समयमै काम सम्पन्न नभएपछि २०७९ असार २५ सम्मलाई म्याद थप गरिएको छ । पोखरा विमानस्थलका लागि तीन हजार ८ सय ९९ रोपनी जग्गा तयार गरिएको छ ।

२०३२ सालमै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । थप जग्गा आयोजनाले चरणबद्ध रूपमा अधिग्रहण गरेको थियो । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको हो । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् । यो विमानस्थल सञ्चालनमा आए सँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्ने छ ।



Tags: