भुवन केसी
सागर राज तिमिल्सिना
पोखरा, २१ साउन/ चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफुले सिनेमाको समस्या बुझेका कारण समस्या समाधानमा लाग्ने बताएका छन् । उनले सिमित समयका लागि आएको बताउदै चलचित्र विकास बोर्डलाई सुधान लाग्ने बताए ।
पोखरामा शनिबार क्याराभान नेपाल प्रालीले आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रमको उद्घाटन गर्दै केसीले समग्र चलचित्र क्षेत्रको सुधारका लागि काम गर्ने बताए ।
‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ । काम गर्न आएको हुँ । छोटो समय नै सही काम गरेर देखाउने छु ।’
नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उनको थियो । नेपाली सिनेमालाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । जसका लागि विकास बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भनाई उनको छ ।
जीवनको ४० वर्ष आफुले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए । केसीले निर्माता तथा निर्देशक एवम् कलाकार बिमल पौडेलले चालेको कदमको प्रशंसा गरे । समाजको कथा खोज्ने कार्यमा बिकास बोर्डले सक्दो सहयोग गर्ने भनाई उनको छ ।
क्याराभान नेपाल प्रालीका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो कथा आफ्नो सिनेमा’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको अभिव्यक्ति प्रस्तुत गरे । हामीले आफ्नो कथालाई चलचित्रमा प्रस्तुत गर्न नसक्दा यस्तो समस्या आएको भनाई उनको छ । उनले आफुले एक अभियानको थालनी गरेको बताए । पौडेलले यो अभियान गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने बताए ।
चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सिमित नरही कथाको खोजी गर्ने र सिनेमाको संरक्षणमा लाग्नुपर्ने बताए । उनले यसका लागि सहज नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाएका छन् ।
कलाकार प्रकाश घिमिरेले नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने बताए । सिनेमा बुझेको निर्माता चलचित्र क्षेत्रमा आउनुपर्ने भनाई उनको छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले किताबी विषयलाई घोेकेको आधारमा मात्रै चलचित्रको कथावस्तु उत्कृष्ट बन्न नसक्ने बताए । यसका लागि समाजमा नै गएर बुझ्नुपर्ने धारणा उनको छ ।
गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्ज बहादुर गुरुङले पूर्वदेखि पश्चिमका कथालाई खोज्नुपर्ने धारणा राखे । जिफानका निवर्तमान अध्यक्ष भोज बहादुर गुरुङले भाषागत चलचित्र अब च्यारेटीमा मात्रै सिमित हुन नहुने बताए । भाषागत चलचित्रलाई सेन्सरमा समस्या भएकोले यसको निवारण तर्फ विकास बोर्डले ध्यान दिनुपर्ने तर्क उनको छ ।
मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापाले मगर चलचित्रको व्यवस्थापन र संरक्षणमा सरकारी निकायले साथ दिनुपर्ने बताए ।