राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने
पोखरा, ८ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बदल्न राजनीतिमा होमिएको बताएका छन् । पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताए ।
आफूहरुलाई मंसिरको चुनावको तीव्र प्रतीक्षा रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने दाबी गरे ।
त्यसै गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटी मै बस्न सुझाब दिए । ‘बा अब बुढो हुनु भयो, अब बालकोटमै बस्नुहोस्’ उनले भने ‘अब देश बनाउने जिम्मा हामी लिन्छौ, बा बुढो हुनु भयो बालकोट मै बस्नु होस् ।’
लामिछानेले आफू कफन बाँधेर राजनीतिमा आएको बताए । उनले आफू सिंहदरबारको यात्रामा रहेको हुँदा खबरदारी गरिरहन पनि भने । उनले पुराना नेताहरुलाई आराम गरेर बस्न आग्रह गरे ।
‘भो तपाईंको चिन्ताले यो देश कहाँ पुग्यो भन्ने कुरा हामीले देखिसक्यौं । छेउको श्रीलंका पुग्ने सँघारमा छौं भनेर तपाईं नै भन्दै हुनुहुन्छ । भो अब यो तपाईंको वृद्ध शरीरबाट हामी यो देशलाई श्रीलंकातर्फ लग्न चाहँदैनौं,’ उनले भने, ‘तपाईँ आराम गर्नुस्, बरु तपाईंसँग सल्लाह लिन म आफैँ आउँला, सिंहदरबार मलाई जान दिनुस् ।’
भेलामा पार्टीका प्रवक्ता डा मुकुल ढकाल, जीता बराललगायत विभिन्न जिल्लाका सहभागीले स्वतन्त्र पार्टी अभियानबारे धारणा राखेका थिए । संचारकर्मी रहेका रवि लामिछाने संचारकर्मबाट हालै राजनीतिमा होमिएका हुन् ।