
हुलाक टिकटले देशको सभ्यता जोगाएको छः मन्त्री थापा
पोखरा, ७ साउन/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताउनुभएको छ । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘हुलाक टिकट मार्फत देशको सभ्यता जोगिएको छ । कला, संस्कृतिको संरक्षण गर्दै एतिहासिक महत्वका विषयवस्तुलाई टिकट मार्फत झल्किाउनु आफैमा महत्वपूर्ण काम हो । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले एतिहासिक महत्व बोकेका टिकटहरुलाई संकलन गरी संरक्षण गरेको काम प्रशंसनिय छ ।’, उहाँले भन्नुभयो ।
मन्त्री थापाले हुलाक टिकटहरुको संग्रह गरी पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास लिनुभएको छ । देश विदेशका विभिन्न टिकटहरुलाई संकलन गरी त्यसको महत्व दर्शिने गरी संग्राहलयको निर्माण गर्नुपर्ने र पर्यटक आकर्षणको नयाँ गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ ।
पश्चिमाञ्चल फिलाटेलिक समाजले गरेका कामप्रति गण्डकी सरकार समेत साथमा रहेको प्रतिबद्धता मन्त्री थापाको छ । उहाँले प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रा.डा. याम बहादुर पौडेलले सोसाइटीले विश्वभरको सभ्यतालाई संरक्षण गर्ने दायित्वका साथ अगाडि बढीरहेको देख्दा खुशी लागेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले हुलाकका टिकटले देश बोकिरहेको बताउनुभयो । डा.कुश्माकर न्यौपानेले सतकर्म गरेर जिउनु नै मानवीय धर्म भएको उल्लेख गर्दै तिरस्कार गरिएका चीजहरुलाई जोगाउने कार्य आफैमा महत्वपूर्ण भएको बताउनुभयो ।
क्षेत्रीय हुलाक निर्देशनालयकी साधना श्रेष्ठले टिकटले सामाजिक, सांस्कृति, प्राकृतिक गतिविधिलाई सजीव राख्न काम गरिरहेको अभिव्यक्ति दिनुभयो । प्रा. डा.इन्द्र प्रसाद तिवारीले हुलाकका टिकटमा नै देशको पहिचान छुपेको र संरक्षण गर्ने दायित्व सबैको भएको उल्लेख गर्नुभयो ।
सोसाइटीका सचिव तुलसीराम खड्काले देश तथा विदेशमा छापिएका टिकटहरुको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रम सोसाइटीका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।