दुर्घटना
तनहुँ, १५ असार/ पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको देउरालीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोलेको मृत्यु भएको हो ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा४३प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग ३ च ४१८२ बोलेरोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मुक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।