
लिफ्ट मागेर चढेका ३ जनाले सरकारी कर्मचारीको गाडी लुटे
कैलाली, १३ असार/ भीम दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी निजी गाडी लुटिएका छन् ।
डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेर चढेका अपरिचित व्यक्तिले कुटपिट गरेर गाडी लुटेका हुन् ।
महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए ।
महेन्द्रनगरबाट लिफ्ट मागेर आएको उनीहरुले फोटो खिच्ने भन्दै गाडी रोकेर ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगेको बताए ।
हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।