
पोखरा महानगरको नीति तथा कार्यक्रमः ६ महिनामा ३ हजारलाई रोजगारी
पोखरा, ८ असार/ आगामी वर्षको पहिलो ६ महिनामा पोखरा महानगरपालिकाले ३ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ हजार रोजगारी ६ महिनाभित्र दिने बताए ।
उनले रोजगारीका लागि प्लस टु तह अध्ययन सकेर बसेका युवालाई लक्षित गरेर तालिम सञ्चालन गर्ने आचार्यले बताए । उनले महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदिजस्ता सीप तथा तालिम दिइने नीति तथा कार्यक्रममा सुनाए ।
त्यसै गरी ४० वर्षमाथिका सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, लेकसाइडमा रहेको हिमागृह र रत्नमन्दिरलाई व्यावसायिक रूपमा खुला गर्ने पहल गर्ने कार्यक्रम रहेको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न यसअघि नै निर्णय गरिएको भन्दै थप पहल गर्ने आचार्यले बताए ।
पोखराको झल्को दिने गरी एक सांस्कृतिक ग्राम बनाउने कार्यक्रमसमेत छ । नगरक्षेत्रका तारलाई भूमिगत गर्ने र अप्टिकल फाइबर ओच्छ्याउने, पोखरा बसपार्क र लामेआहालको प्रदेश स्तरीय बसपार्क निर्माणदेखि अन्तराष्ट्रिय सम्मेलन केन्द्र र क्रिकेट रंगशाला निर्माण सम्मका कार्यक्रम समाबेश गरिएको छ । आचार्यले बजेटमा विशेषगरी पर्यटनलाई प्राथमिकता दिने बताए ।
त्यसै गरी बारीदेखी बजार सम्मः गोठ देखि ओठसम्म, पर्यटनका थप गन्तव्य केभ टु केभ, लेक टु लेक, कोटदेखी कोटसम्मका नयाँ सर्किटको सडक सम्भाव्यता अध्ययन गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् ।
त्यसै गरी पोखराको पृथ्वीचोकमा अण्डरपास तथा फलाइ ओभरको सम्भाव्यता अध्यन गर्ने, पोखरा चक्रपथ निर्माणको लागि अध्यन गरिने, सार्वजनिक पार्किङ स्थलको उचित व्यवस्थापन गरिने, आगामी दुइवर्ष भित्र टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइबर जडान गरिने र विधुत प्राधिकरणको साझेधारीमा विजुलीका तार भूमिगत गरी सहरी जोखिम न्युन र सुन्दरता बढाइने नीति तथा कार्याक्रममा समेटेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखराम महानगरको विकासका लागि प्रदेश सरकार र महानगर मिलेर आगडी बढ्नु पर्ने बताए ।