पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता
पोखरा, २ असार/ पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदैछ । साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना, साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।
४५ किलोमिटर दुरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुनेछ ।
पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडा लगायत ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ । प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुने समितिले जनाएको छ ।
विभिन्न ठाउँमा शुक्रबार दिउँसो २ बजेसम्म फारम भर्न सकिने सहआयोजक साइक्लिङ संघ कास्की अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ ।
खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताले साइक्लिङलाई खेलकै रुपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो पहिलो प्रयास भएको र आगामी वर्षमा विदेशी साइकलयात्रीलाई पनि सहभागी गराउने उनले बताए ।