
पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा
पोखरा, २ असार/ पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा असार ३ गते शुक्रबारबाट गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।
यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गरेका हुन् । नाटकमा न्यायाधीशको भुमिकामा झलक थापा, इजलास अधिकृतको भुमिकामा सुशिल बराल र मनिषा के.सी, सरकारी वकिलको भुमिकामा अदित भुजेल र नीजि वकिलको भुमिकामा एलिसा भोगले अभिनय गरेका छन् ।
यसैगरी कार्यालय सहयोगीको भुमिकामा गोपाल भुषाल, शिखाको भुमिकामा अनामिका रिजाल, जीवनको भुमिकामा प्रतीक राउत, रत्नाको भुमिकामा प्रतिभा रिमाल, छिमेकीको भुमिकामा पाल्मती थापा, प्रहरीको भुमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा मनोचिकित्सको भुमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ । नाटकलाई ड्रामाटर्जी गर्न अधिवक्ता एवं लेखक दीपक पराजुलीले साथ दिएका छन् ।
हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पारेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उनको भनाई छ । समसायमी विषयमा तयार गरेका कारण दर्शकको माया पाउने सहजकर्ता एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।
नाटकमा १९ वर्षिय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढंगले प्रस्तुत गरेको परिर्वतनले बताए । नाटक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ ।